मोरङ। मोरङको नयाँ पर्यटकीय गन्तव्य मिक्लाजुङ–१ रमितेबाट फर्किँदै गरेको मोटरसाइकल टाँढीस्थित अधिकारी चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मधुमल्लाका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे २ प ९०९७ नम्बरको मोटरसाइकल मिक्लाजुङ–३ अधिकारी चोकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा उर्लाबारी–४ का आरप डाँगीको मृत्यु भएको हो ।
त्यस्तै, सोही मोटरसाइकलमा सवार उर्लाबारी–४ कै १५ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । उनी अहिले अरनिको अस्पताल उर्लाबारीमा उपचाररत छन् ।
प्रत्यक्षदर्शीका अनुसार अधिकारी चोकको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल झरेर पिठारीको रुखमा ठोक्किएर अड्किएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।