काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारमा रहेको विषयमा तयार पारेको समाचारमा सन्दर्भ नखुलाई एआई सिर्जित तस्बिर प्रयोग गरेपछि नयाँ पत्रिका दैनिक आलोचित बनेको छ । शुक्रबार प्रकाशित समाचारमा प्रयोग गरिएको काल्पनिक तस्बिरले पाठकमा भ्रम सिर्जना गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि पत्रिकाले गल्ती स्वीकार गरेको हो ।
“कारागारमा रविलाई राखिएको कोठा जस्तै देखिने समाचारमा प्रयोग भएको तस्बिर एआईको सहयोगमा तयार गरिएको हो । शुक्रबारको नयाँ पत्रिकामा प्रकाशित यो तस्बिरबारे असावधानीबस खुलाउन छुटेकोमा क्षमाप्रार्थी छौं,” पत्रिकाले भनेको छ ।
‘कारागारमा यसरी राखिएको छ रविलाई’ शीर्षकको उक्त समाचारमा लामिछानेलाई भैरहवा कारागारको साँघुरो, अँध्यारो र गर्मी कोठामा न्यूनतम मानव अधिकारबाट समेत वञ्चित गरी राखिएको उल्लेख छ । समाचारलाई थप प्रभावकारी देखाउन प्रयोग गरिएको तस्बिर एआई सिर्जित भएपनि पत्रिकाले यसबारे खुलाएको थिएन ।
उक्त शीर्षकको समाचार बिहानैदेखि सामाजिक सञ्जालमा व्यापक शेयर भइरहेको छ । खासगरी रास्वपाका नेता/कार्यकर्ताले समाचार प्रचारप्रसार गरेका छन् ।
वास्तविक जस्तै देखिने तर काल्पनिक तस्बिरलाई सन्दर्भ नखुलाई छाप्नु पत्रकार आचारसंहिता, २०७६ को ठाडो उल्लंघन पनि हो । आचारसंहिताको दफा ७ (१) मा “पत्रकार तथा सञ्चारमाध्यमले कुनै टिप्पणी वा स्पष्टता बिना तस्बिर, भिडिओ दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने वा असान्दर्भिक हुने गरी सामग्री प्रकाशन वा प्रसारण गर्नुहुँदैन’ उल्लेख गरिएको छ ।
त्यस्तै आचारसंहिताको दफा ७ (२) मा “पत्रकार तथा सञ्चारमाध्यमले साजसज्जाका क्रममा वास्तविकताभन्दा अलग देखिने गरी नक्कली वा बनावटी किसिमले अलग-अलग फोटोहरू मिलाउन, छाँटकाँट वा तोडमोड गर्नहुँदैन । मोडलिङ वा अभिनय वा रेखाचित्र वा कोलाज गरेर कुनै फोटो वा दृश्य तयार गरिएको खण्डमा पाठक, दर्शक वा स्रोता नझुक्किने गरी सो कुरा स्पष्ट उल्लेख गर्नुपर्दछ,” भन्ने स्पष्ट व्यवस्था छ ।