काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा जाने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले दिएको आदेशअनुसार लामिछानेलाई थुनामा राखेर अनुसन्धान अघि बढाउने निर्णय गरिएको छ।
यसअघि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, सोही मुद्दामा जिल्ला अदालतकै न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
धरौटी आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गरेपछि अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको हो। रविले पनि आफूमाथि गरिएको धरौटीको आदेश बदर गरी साधारण तारेखमा राख्न माग गर्दै पुनरावेदन दिएका थिए।



















