काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा हुने संकेतसँगै सो पार्टीका समर्थकहरुमा खुशीयाली देखिएको छ ।
रास्वापका समर्थकहरु सर्वोच्च अदालत र रुपन्देही कारागार अगाडि भेला भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमा लामो बहसपछि आज आदेश आउनुअघि सर्वोच्चको गेटमा रास्वपाका समर्थकहरुको भिड लागेको हो ।
लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केहीबेरमा आदेश आउँदैछ । दुई न्यायाधीशहरुले ढाका थुनेर फैसला लेखिरहेको जनाइएको छ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।
उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।