काठमाडौँ– रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जनाको उद्धार गरिएको छ।
चीनमा भएको वर्षापछि आज बिहान भोटेकोशी नदीमा बाढी आउँदा रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा रहेको रसुवागढी जलविद्युत आयोजनामा काम गर्दै आएका २३ जना फसेका थिए।
उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन्। बाढीले बिहान ४ बजे नेपाल र चीन नाका जोड्ने मितेरी पुल पूर्ण रूपमा क्षति भई मानिस र सवारी साधनको आवतजावत बन्द भएको छ।
त्यस्तै, बिहान साढे ४ बजे रसुवा गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ मा रहेको इभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ भने ७/८ वटा इभी गाडीहरू बाढीले बगाएको छ।
रसुवा भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको र रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति भएको प्रहरीले जानकारी गराएको छ।