बाजुरा । बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत गरिएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको पूर्वसन्ध्यामा स्थानीयहरुले राँगा जुधाएर दशैको स्वागत गरेका हुन् ।
हिन्दुहरुको महान् पर्व विजयदशमिको घटस्थापनाको पहिलो दिन भगवतीको पुजाआराधना गरि घरघरमा जमरा राखि दशैंको शुभारम्भ गरिन्छ । तर बाजुरामा भने एकआपसमा राँगा जुधाएर दशंैको शुभारम्भ गरिएको हो ।
बाजुराको सदरमुकाम मार्तडीस्थिति बडीमालिका नगरपालिका वडा नं. ८ बाउलीमा मार्तडीबासीहरुले एकआपसमा राँगालाई जुधाएर दशैंको स्वागत गरेका हुन् ।
हरेक वर्ष झैँ यस वर्ष पनि राँगा जुधाएर महान चाड बडादशैंको स्वागत गरिएको बडिमालिका नगरपालिका वडा नम्बर ८ का स्थानीय धने थापाले बताए । यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडादशैंको स्वागत गर्ने गरेका छन् । रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाइएका हुन् । जसमा थापाबाडिको राँगाले जितेको हो ।
लेकबाट औलतिर भंैसीहरु झारिसकेपछि एकआपसमा कसको राँगामा कति बल छ, कसले राम्रोसँग पालन गरेको छ भन्ने कुरा प्रष्ट पार्न घटस्थापनाको अघिल्लो दिन जुधाइने प्रचलन रहेको छ ।