काठमाडौं। राजसंस्था पुनर्स्थापनाका लागि सक्रिय संयुक्त जनआन्दोलन समितिले वैशाख २२ गते सामूहिक गिरफ्तारी कार्यक्रम घोषणा गरेको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत तीनकुने आन्दोलनपछि पक्राउ परेका नेता तथा कार्यकर्ताहरूको रिहाइ नभए उक्त कार्यक्रम गर्ने चेतावनी दिएका हुन्।
डा. गुरुङले प्रमुख नेता नवराज सुवेदीको नजरबन्द अन्त्य, अन्य पक्राउ परेका नेताहरूको मुद्दा खारेज गरी रिहाइ गर्न सरकारसँग माग गरेका छन्। उनले भने, “हाम्रा मागहरू सुनुवाइ नभए वैशाख २२ गते तीनकुनेको शहीदभूमिमा सहादत प्राप्त वीर सहिदको रगतले लतपतिएको माटोको टीका लगाएर सामूहिक रूपमा पक्राउ पर्न जानेछौं।”
उनले आन्दोलन शान्तिपूर्ण तरिकाले अघि बढाउने स्पष्ट पारे। “महात्मा गान्धीले अंग्रेजलाई भद्र अवज्ञा आन्दोलनमार्फत पराजित गरेका थिए, हामी पनि यही बाटोबाट अघि बढ्छौं,” गुरुङले भने।
उनका अनुसार केही कार्यकर्ताले सशस्त्र आन्दोलनको प्रस्ताव गरे पनि अहिले त्यो अवस्था नरहेको बताए। तीनकुने आन्दोलनपछि राजावादीहरू तितरबितर भएको भन्ने प्रचारप्रति आपत्ति जनाउँदै उनले आन्दोलन अझ सशक्त रूपमा अगाडि बढिरहेको जिकिर गरे।
गुरुङले अन्त्यमा दृढताको संकेत दिँदै भने, “हामी ज्यानको माया नगरी अगाडि बढ्नेछौं, सबैभन्दा अगाडि म हुनेछु। को–को आउनुहुन्छ, आउनुस्।”