राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको सर्वदलीय सम्मेलनको माग गरेको छ। सोमबार पोखरा नगर अधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशमा उत्पन्न राजनीतिक जटिलताबाट बाहिर निस्कन ‘सर्वदलीय सहमति’ अपरिहार्य भएको बताएका हुन्।
लिङदेनले राप्रपाले राष्ट्रिय पहिचान, आर्थिक स्थिरता र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेबार विपक्षीको भूमिका निर्वाह गर्ने बताए। देश अहिले गहिरो अनिश्चयमा रहेको हुँदा राजा, जेनजी समूह र राजनीतिक दलहरू एउटै टेबुलमा बसेर राष्ट्रको हितका लागि साझा मार्गचित्र बनाउनुपर्ने आवाज राप्रपा नेताहरूले चर्को रूपमा उठाए। अहिले गठन भएको अन्तरिम सरकारलाई चेतावनी दिँदै राजा, जेनजी समूह र सबै राजनीतिक दलहरूलाई समेटेर सर्वदलीय सम्मेलन आयोजना गर्न लिङदेनले आग्रह गरे।
उनका अनुसार, राज्य शक्तिहरूबीच आपसी अविश्वास बढ्दै गएको र राजनीतिक नेतृत्वबाट समाधान आउने आशा कमजोर बन्दै गएको अवस्थामा राष्ट्रलाई स्थायित्व दिने एकमात्र उपाय सबै पक्ष बीचको खुला संवाद र सहमति रहेको स्पष्ट पारे। पोखरामा भएको अधिवेशनमा विभिन्न वडा प्रतिनिधि, कार्यकर्ता र सदस्यहरूको भिड देखिएको थियो। कार्यक्रममा पार्टीको आन्तरिक लडाइँको विषयमा समेत आवाज उठ्यो।
यसको जवाफ दिँदै राप्रपाका महामन्त्री धवलशमशेर राणाले पार्टीको आन्तरिक लडाइँलाई लिएर बाहिर नकारात्मक सन्देश गएको हुँदा पार्टीभित्रका गल्तीलाई स्वीकार गर्दै, भएको समस्यालाई समाधान गर्दै मिलेर जानुको विकल्प नभएको बताए।
अधिवेशनले संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे आन्तरिक कार्ययोजनाका विषयमा छलफल समेत गरेको छ। राप्रपा अझ झन् सशक्त रूपमा उठेर देशलाई लुटेर खाने दलका विरुद्ध उभिनुपर्ने आवाज युवा नेताहरूबाट उठेको थियो। अबको लडाइँ सामान्य नभएको तथा देश बेच्ने दलाल र देशलाई शिरमा राख्ने राष्ट्रवादीबीचको लडाइँ भएको केन्द्रीय सदस्य अर्जुन खनालले बताए।
अधिवेशनमा उठेका राजनीतिक आवाज, नेतृत्वद्वारा व्यक्त जिम्मेवारी र युवापुस्ताले प्रस्तुत गरेको राष्ट्रवादी प्रतिबद्धतासँगै राप्रपाले पोखराबाट संगठन सुदृढीकरणको नयाँ सुरुआत गरेको दाबी गरेको छ।
देशको बदलिँदो राजनीतिक समीकरणबीच राप्रपाले प्रस्तुत गरेको ‘सर्वदलीय सहमति’को आग्रह कति प्रभावकारी हुन्छ भन्ने कुराले भने अबको राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने संकेतसमेत दिएको छ।



















