काठमाडौं – हाल देशका चार प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
शनिबार रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ। बाँकी भू-भागहरूमा आंशिक बदलीको सम्भावना छ।
कोशी र मधेश प्रदेशका केही स्थानहरूमा र अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिइएको छ।
यससँगै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।