काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आज देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
पर्सिसम्म चल्ने महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन हुनेछ ।
राप्रपा अध्यक्ष पदका लागि कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनको चर्चा चलिरहेको छ ।
पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अध्यक्षका लागि उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् ।
महाधिवेशनमा देशभरबाट करिब चार हजार भेला हुँदै छन् । महाधिवेशनले एक सय ४७ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ ।
तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेको यो महाधिवेशनलाई पार्टीले ‘एकता महाधिवेशन’ भनेको छ ।
महाधिवेशनका लागि प्रदेशसभा क्षेत्रहरूबाट पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
राप्रपा विधानअनुसार एक सय ९९ सदस्यमध्ये ७५ प्रतिशत अर्थात् अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने विधानमा व्यवस्था छ ।