बिर्तामोड। बिर्तामोड नगरपालिकामा देखिएका विसंगति, अनियमितता तथा भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिले आइतबार नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

दिउँसो नगरपालिका कार्यालयमा उपस्थित भएका नगर समितिका सदस्य तथा राप्रपाका कार्यकर्ताले कार्यवाहक मेयर नगेन्द्रप्रसाद संग्रौलालाई २८ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।
बिर्तामोड नगर समितिका अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा पुगेको टोलीले नगरपालिकामा भइरहेको अनियमितता र बेथितिको छानबिन तथा सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा नगरपालिकामा पारदर्शिता अभाव, विकास निर्माणमा ढिलाइ, सार्वजनिक सेवामा हुने मनोमानी लगायतका विषय समेटिएको छ।
राप्रपाले नगरपालिकामा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनताले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन माग गर्दै आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।