काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ।
आइतबार बिहान साढे ९ बजे पार्टी संसदीय दलको कार्यालयमा बस्नेगरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, संसद्का काम र अन्य विविध विषयमा छलफल हुने बताइएको थियो।
रास्वपाले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको तयारी भएसँगै सरकारबाट बाहिरिने बताएको छ।
सत्तारुढ दलसमेत रहेको रास्वपाले फेरिएको सत्ता गठबन्धनमा नजाने यसअघि बताइसकेको छ।
प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट सहभागी मन्त्रीहरू राजीनामा बुझाउन समेत पुगेका थिए।