राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
विगतमा सांसद रमेश लेखकले सदनमा प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ भन्ने गरेको र अहिले आफैमाथि प्रश्न उठेकोमा यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर उनीमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धानलाई सघाउन रास्वपाले माग गरेको हो । साथै, यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि रास्वपाले सुझाव दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको शनिबार बसेको आकस्मिक भर्चुअल बैठकपछि जारी विज्ञप्तीमा यस्तो माग गरिएको छ ।
यस्तै बैठकले रास्वपाको सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्ने निर्णय पनि गरेको छ । तर सहकारीको बोर्डमा रहेका, सहकारी वचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ की भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा सरोकार र चिन्ता रहेको जनाएको छ । राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
