- तीर्थ तिम्सिना
‘साबुन पानीले राम्रोसँग हात धोऔँ, भीडभाडमा सामाजिक दूरी कायम गरौँ र सही तरिकाले मास्कको प्रयोग गरौँ।’–यो भनाई आजभोली धेरैका लागि सामान्य हुँदै गएको छ । सर्वसाधारणका लागि स्वास्थ्य मन्त्रालयले दिने गरेको यो सूचना खासै प्रभावकारी देखिएको छैन ।
कोरोना कहरको सुरुवाती चरणमा अधिकांश मानिसहरुले मास्कको प्रयोग गरेको पाइन्थ्यो । तर अहिले आएर कोरोना ह्वात्तै बढेपनि धेरैले मास्क लगाउन छोडेका छन् । सर्वसाधारणको गतिविधिबाट सजिलै भन्न सकिन्छ कि, ‘अब कसैमा कोरोना भाइरस संक्रमणको कुनै डर नै छैन।’ देशका विभिन्न जिल्लाहरुमा नाम मात्राको लकडाउन छ । दैनिकजसो कोरोना संक्रमित बढीरहेका छन् ।
नाम मात्राको लकडाउनमा मानिसहरु जोखिमलाई अलिकत्ति पनि वास्ता नगरि रिफ्रेस हुन भन्दै घुम्न थालेका छन्। निर्धक्क भएर जमघट गरिरहेका छन्। चिया पसल देखि लिएर, बजार, पर्यटकीय क्षेत्रहरुमा समेत भीडभाड उसैगरी बाक्लिन थालेको छ । दूरी कायम गरेको पाइँदैन । सही तरिकाले मास्क प्रयोग गर्न छाडेका छन्। यस्ता प्रकारका लापरवाहीले गाउँघरमै संक्रमण फैलिन थालेको छ ।
मन्त्रालयले सर्वसाधारणलाई जरुरी काम बाहेक घरबाहिर ननिस्कन, घर बाहिर निस्कनै परे अनिवार्य मास्क लगाउन र एक अर्काबिच कम्तीमा दूरी कायम गर्न आग्रह गर्दै आएको छ। सरकारले बारम्बार भीडभाड नगर्न, सामाजिक दूरी कायम गर्न, अनिवार्य रूपमा मास्क लगाउन तथा अत्यावश्यक काम नपरीकन घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ। तर यसलाई आम नागरिकले बेवास्ता गरिरहेका छन्। कोरोना केही होइन भनेर पनि केही मान्छेले जथाभावी गरेको अवस्था बढ्दै गएको छ ।
मास्कको गलत प्रयोग गर्दा मास्क नलगाउँदाको जत्तिकै खतरा हुने चिकित्सकहरुले बताएता पनि धेरैले यसको प्रयोग गलत तरिकाबाट गरिरहेका छन्। कतिपयले मास्क टाउकोमा, चिउँडोमा राख्दै मास्कको प्रयोग सही तरिकाले नगरेको देखिन्छ, मास्कको उचित प्रयोग नगर्नु भनेको मास्क नलगाउनु जस्तै खतरानाक हुन्छ न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्नेहरु पनि कमै छन् । त्यही भएर पछिल्ला दिनहरुमा नेपालमा पनि बिस्तारै कोरोनाभाइरस संक्रमणको ग्राफ बिस्तारै उकालो लाग्दै गएको छ ।
कोरोना हाम्रो समाज भित्रै छ । कोरोनाले कसैलाई पनि भेदभाव गर्दैन । त्यसकारण यसलाई केही पनि होइन भनेर अफवाह नफैलाऔं । आफू पनि जोगिऔं, अरूलाई पनि जोगिने उपाय सिकाऔं र दुःखमुक्त हुन सहयोग गरौं।’
कोरोना संक्रमण भएकाको अनुभवबाट पनि सुरक्षित रहन केही सिकौं । धेरै कोरोना संक्रमण मुक्त हुनुभएकाले कोरोनाविरुद्घको जित होइन, म त मृत्युको मुखबाट बाँचेर आएको हो भन्नुहुन्छ, त्यस्तै संक्रमण निको भएर आउनुभएकाहरूले कोरोना संक्रमण भइसकेपछि आउने सामाजिक, शारीरिक र मानसिक समस्या शब्दमा बयान गर्न सकिँदैन भन्नुहुन्छ । त्यसैले आफैं सुरक्षित रहनुको विकल्प छैन ।