रुपन्देही र जुम्लामा हाल सञ्चालन भइरहेको एसईई ग्रेड वृद्धि परीक्षामा नक्कली परीक्षार्थीको संलग्नता फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जुम्लामा, चन्दननाथ नगरपालिका–५ मा रहेको श्री चन्दननाथ माध्यमिक विद्यालय, खलंगामा परीक्षामा बसेका एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो। पातारासी गाउँपालिका–१ का मोति प्रसाद बुढाको नाममा परीक्षा दिइरहेका १७ वर्षीय जनक बुढालाई केन्द्राध्यक्ष टंक बहादुर महतले चेकजाँच गर्ने क्रममा फेला पारी जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको पाँच जनाको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ भानुपथस्थित श्री भानु माध्यमिक विद्यालयमा आयोजित ग्रेड वृद्धि परीक्षामा पनि नक्कली परीक्षार्थी फेला परेका छन्। मायादेवी गाउँपालिका–४ सेमरी माध्यमिक विद्यालयका विद्यार्थी १९ वर्षीय अनिल यादवको नाममा १८ वर्षीय अशोक लोध परीक्षामा बसेको पाइएको हो। उनले प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा हलमा प्रवेश गरेको गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ।
प्रहरीका अनुसार, दुबै घटनामा परीक्षामा धाँधली गर्ने प्रयत्न गरिएको पुष्टि भइसकेको छ र कानूनी कारबाही अघि बढाइएको छ।



















