Search
Close this search box.
Search
Close this search box.

रुस-युक्रेन युद्धमा थप चार नेपालीको मृत्यु, १७४ स्वदेश फर्किए

रुसी सेनामा भर्ती भएका ४० नेपालीको ज्यान गएको छ । युक्रेनसँगको युद्धमा परेर थप चारजना नेपालीको मृत्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ४० पुगेको हो । पछिल्लोपटक मृत्यु हुने चार नेपालीमा विमल लिम्बू, विक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुनुहुन्छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको हो । परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको छ । असार १० सम्मको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ३४ थियो । त्यसपछि थप दुईजना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो ।

२०७८ फागुन १२ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । परराष्ट्र मन्त्रालयले रुस-युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीको बारेमा सुरुवातमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिए पनि पछिल्लो समय मृत्यु हुनेहरू सबैको नामावली सार्वजनिक गरेको छैन ।

EPIC

रुस मामिलामा परराष्ट्र मन्त्रालयले कुनै पनि जानकारी दिन छाडेको छ । मस्कोस्थित नेपाली दूतावासले पनि परराष्ट्र मन्त्रालयको निर्देशनपछि नेपालीहरूको सम्बन्धमा सूचना प्रवाह गर्न छाडेको छ । दूतावासका कर्मचारीहरू प्रेससँग सम्पर्कमै आउन चाहँदैनन् । प्राप्त विवरणमा हालसम्म सरकारी संयन्त्रमा सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको र घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको गरी कुल ३३१ वटा निवेदन परेको छ ।

यस्तै, घाइते भएर उपचाररत रहेका नेपालीको संख्या पाँचजना रहेको र स्वदेश फर्किएकाहरूको संख्या १६२ जना रहेको जनाइएको छ । डिएनए टेष्टका लागि अनुरोध भएकाहरूको संख्या २२ जना छ । जसमध्ये १५ वटा डिएनए टेष्ट नतिजा रुसको मस्कोस्थित नेपाली दूतावासमा पठाइएको छ । यस्तै, दुई जनाको डिएनए टेष्टका लागि परिवारलाई जानकारी गराइएको छ । पाँच जनाको डिएनए टेष्टका लागि प्रहरी प्रधान कार्यालय, नक्साललाई पछिल्लोपटक पठाइएको छ ।

परिवारका सदस्यबाट सहमति लिएर उतै दाहसंस्कार भई पाँच जनाको अस्तुधातु नेपाल पठाएर परिवारलाई बुझाइएको छ । तथ्यांकअनुसार क्षतिपूर्तिका लागि नेपाल राजदूतावास मस्कोबाट ६ जनाको कागजात माग भएको छ । जसमा रूपक राई, देवान राई, प्रितम कार्की, गंगाराज मोक्तान, सन्दीप थपलिया र राजकुमार रोका हुनुहुन्छ । रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या भने सरकारले यकिन छैन ।

रुसी सेनामा भर्ना भएर युद्धकै क्रममा मृत्यु भएका र बेपत्ता भएका परिवारको रक्षार्थ गठन भएको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले भने युद्धमा ६१ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु भएको भनिए पनि पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

अर्कोतर्फ रुसबाट १७४ जना नेपाली सकुशल घर फर्किएका छन् । परराष्ट्र मन्त्रालय र दूतावासको सहकार्यमा उनीहरूलाई घर फर्काइएको हो । नेपाल सरकारद्वारा पटक-पटक रुससँग कूटनीति संवाद गर्दै नेपालीहरूको विषयमा चासो राख्दै आइरहेको छ । तर, रुसको परराष्ट्र मन्त्रालय भने रक्षा मन्त्रालयलाई देखाउँदै जवाफ दिन आलटाल गरिरहन्छ । रुसले सन् २०२२ मा रसियन सेनामा भर्ती हुन चाहने विदेशी नागरिकलाई एक वर्षभित्रै रुसको नागरिकता दिने कानुन बनाएको थियो । जसकारण नेपाल मात्र हैन अन्य देशका नागरिक पनि जीविकोपार्जनका लागि राम्रो तलब पाउने आसमा भर्ती हुने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *