प्युठान। रेडियो सुनेर पैसा कमाउन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ, तर रेडियो सुनेरै एकजना स्रोताले पौने दुई लाख रुपैयाँ आम्दानी गरेका छन्। प्युठानको ऐरावती गाउँपालिका ६ का बघौडाका ऋषिराम पाण्डेले रेडियो सुनेर पौने दुई लाख आम्दानी गरेका छन्।
देशभरका ६५ जिल्लाका विभिन्न रेडियोमा फोन गरेर विभिन्न हाजिरी जवाफ जस्ता पुरस्कार राशि राखिएका कार्यक्रम फोन गरेर उनले आम्दानी गरेका हुन्।
२०६१ सालदेखि सीडीएमए फोन हुँदादेखि नै रेडियोमा फोन हान्ने विभिन्न कार्यक्रममा भाग लिने ऋषिरामले अहिले आफूले पाँचवटा फोन राखेर हाजिरजवाफ, गाउँखाने कथा, दोहोरी प्रतियोगिता लगायतका कार्यक्रममा भाग लिँदै आएका छन्।
विभिन्न नगद पुरस्कार, रिचार्ड कार्ड र अन्य पुरस्कारबाट उने कोरोना पछि अहिलेससम्म पौने दुई लाख कमाएको बताएका छन्।
६४ वर्षीय ऋषिराम बिहान ५ बजेदेखि रातिको ११ बजेसम्म रेडियो सुनेरै बस्छन्। काम गर्दा होस् या खाना खाँदा उनको रेडियो बन्द हुँदैन।
कार्यक्रममा फोन हान्ने पुरस्कार जित्ने प्रयास गर्ने उनको दैनिकी जस्तै भएको छ। उनको रहर पुरा गर्न उनकी श्रीमतीले समेत सघाएकी छिन्। अहिले रेडियो सञ्चारको पुरानो माध्यम भएको छ। विद्युत र इन्टरनेटको सहज पहुँचले रेडियोहरू ओझेलमा परेका छन्।
रेडियोलाई सुन्न लायक बनाउन र स्रोताका रुचिका विषय पस्कन सके रेडियो अहिलेपनि लोकप्रिय सञ्चारमाध्यममा पर्न सक्छ।



















