- पालिका संवाददाता/इलाम
रोङ गाउँपालिका-५, इरौंटारमा बिहीबार विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा कृषि, पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह लिम्बूसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण भने ‘गुरु किसान’ घोषणा तथा सम्मान थियो। गाउँपालिकाले तयार पारेको ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ अनुसार १२१ किसानलाई ‘गुरु किसान’ घोषणा गर्दै सम्मान गरिएको छ। पालिकाले कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न यी किसानहरूलाई अरू किसानहरूका लागि प्रेरणाको स्रोत बनाउने लक्ष्य लिएको छ।
रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले कृषिमा आत्मनिर्भरता बढाउन यो कार्यक्रम लागू गरिएको बताए। ‘हामी मेहनती किसान उत्पादन गर्छौं, गफाडी किसान होइन,’ उनले भने, ‘किसानलाई आत्मनिर्भर बनाउने, आधुनिक प्रविधिमा आधारित खेतीलाई प्रवर्द्धन गर्ने र उत्पादनको गुणस्तर सुधार गर्ने हाम्रो लक्ष्य हो।’
पालिकाका उपाध्यक्ष विष्णुमाया खवासले किसानको सम्मान नगरी देश समृद्ध नहुने बताउँदै स्थानीय तहले कृषि पेसालाई सम्मानजनक बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा मन्त्री अधिकारीले संघीय सरकारले रोङको कृषि विकासका लागि करिब तीन करोड रुपैयाँ छुट्याउने आश्वासन दिए। उनले रोङले स्थानीय तहकै स्तरबाट उदाहरणीय कृषि कार्यक्रम ल्याएको उल्लेख गर्दै प्रदेश र संघीय सरकार मिलेर यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
प्रदेशका कृषिमन्त्री लिम्बूले पनि प्रदेश सरकारले रोङको कृषि विकासलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
पालिकाले ‘गुरु किसान’ सूचीमा दर्ता हुन चाहने किसानका लागि मापदण्ड निर्धारण गरेको छ। कम्तीमा तीन वर्ष सोही क्षेत्रमा सक्रियता, वार्षिक आम्दानी, रोजगारी सिर्जना, उत्पादनको मात्रा तथा गुणस्तरलगायतका आधारमा किसान छनोट गरिनेछ।
गुरु किसान कार्यक्रमले रोङलाई कृषि हब बनाउने अपेक्षा
पालिकाले कृषिमा आत्मनिर्भरता बढाउने लक्ष्यसहित मौरी पालन, अलैंची, बेसार, तितेकरेला, गुन्द्रुकजस्ता उत्पादनलाई प्रवर्द्धन गरिरहेको छ। अब यी ‘गुरु किसान’हरूले अरू किसानलाई पनि प्रशिक्षण दिनेछन्, जसले समग्र उत्पादन वृद्धि र व्यावसायिक कृषि विस्तारमा टेवा पुर्याउनेछ।
पालिकाको यो कदम स्थानीय तहमा कृषिलाई आधुनिक, व्यवसायिक र सम्मानजनक पेसाका रूपमा स्थापित गर्नेतर्फको ऐतिहासिक पहलका रूपमा हेरिएको छ।