पर्सा । नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलमले सफाइ पाएका छन् । रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको हो । उच्चले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । यसअघि जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेको भन्दै आलमसहित चार जनालाई जिल्ला अदालतले गत वर्ष वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा आलम, उनका भाइ महताब, शेख सराज र बद्री सहनी रहेका छन् ।
२०६४ साल चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलमसँगै उनका भाइआलमसहित ११ जनाविरुद्ध २०७६ साल कार्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।
थुनछेक बहसपछि जिल्ला अदालतले कार्तिक २९ गते आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसयता लगातार थुनामा रहेका आलम जिल्ला अदालतबाट दोषी ठहर भएपछि पुनरावेदनमा गएका थिए ।
पुनरावेदनमा बादीले प्रमाण अभावमा आरोपकै भरमा सजाय हुन नसक्ने भन्दै जिल्ला अदालतको आदेश उल्टी हुने फैसला गरेको हो ।