ललितपुरको हरिसिद्धीमा आज बिहान भएको दुर्घटनाको जिम्मेवारी कोशी प्रदेश सरकारले दिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले दुर्घटनामा घाइते भएकी बालिको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने घोषणा गरेका छन् ।
ललितपुर–२८ मा आज बिहान सवा ७ बजेतिर कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री राम राना चढ्ने गाडीले ठक्कर दिँदा हरिसिद्धीकी ११ वर्षीया बालिका उषा सुनुवार घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका छन् ।
ठक्कर दिएर मन्त्रीको गाडी सम्पर्कविहीन भएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका थिए । सडक अवरुद्ध हुँदा आम नागरिकसँगै एमाले विधान महाधिवेशनमा जाने प्रतिनिधिहरू पनि समस्यामा परेका छन् । स्थिति साम्य पार्न ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच वार्ता भएको थियो ।
मुख्यमन्त्री कार्कीले आफ्नो क्याबिनेटका मन्त्रीको गाडीले दुर्घटना गराएकोले नैतिक जिम्मेवारी लिँदै बालिकाको समूर्ण उपचार गर्ने निर्णय गरिएको जानकारी दिए ।