विराटनगर। कोशी प्रदेशका सांसद अमृत अर्यालले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीको घर बनाइदिने बताएका छन् । राष्ट्रिय क्रिकेट टिमका खेलाडी राजवंशीको घरको अवस्था जीर्ण भएको र घर बनाउन आवश्यक रकम समेत नभएकाले उनको घर बनाइदिन लागिएको सांसद अर्यालले बताए ।
सोमबार ललित राजवंशीको घरमा पुगेका अर्यालले कोशी प्रदेशका सांसदहरूले पाउने जनता आवास कार्यक्रम अन्तर्गतको ६ वटा घर मध्ये एउटा ललित राजवंशीका लागि निर्माण गरिने जानकारी दिए ।
अर्यालले भने, ‘राजवंशीको घरको अवस्था जीर्ण भएको र घर निर्माणका लागि आवश्यक रकम समेत नभएको पाइएकाले जनता आवास कार्यक्रम अन्तर्गत राजवंशीको घर निर्माण गरिन लागिएको हो ।’ अर्यालका अनुसार कोशी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदको सिफारिसमा पूर्वाधार विकास कार्यालयले ६ वटा अति विपन्न वर्गका जनताका लागि घर निर्माण गर्ने गरेको छ ।
सोही कार्यक्रम अन्तर्गत राजवंशीको घर पनि निर्माण गर्न लागिएको अर्यालले बताए । उनका अनुसार यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने तयारी गरिएको छ । जनता आवास अन्तर्गत निर्माण हुने घर ४ देखि ५ लाख रुपैयाँ लागतको हुनेछ । जसमा दुई वटा कोठा, बरण्डा र शौचालय निर्माण हुने अर्यालले बताए ।