लागूपदार्थको डढेलोबाट भावी पुस्तालाई जोगाऔं


-इन्द्रप्रसाद ओली-

देशको पूर्ण परिभाषाको सम्पूर्ण अङ्गमा एउटा अनिवार्य, महत्वपूर्ण र अपरिहार्य अवयव भनेको ‘नागरिक’ हो। नागरिक जीवन आफू र आफ्नो देशप्रति लापरवाह, उदासीन, निराश र उद्विग्न बन्नु अन्ततः देशको भविष्य स्वयं भाराक्रान्त, कमजोर र खतरायुक्त बन्नु हो। अतः अनेक प्रकारले अहिले हाम्रो देशको देख-अदेख धरातलीय सामाजिक अभ्यासको स्थिति यस्तै छ। एकातिर कुल नागरिक संख्याको घटिमा एक-तिहाइ ऊर्जावान वयस्क, युवा-युवती तथा कलिला किशोर-किशोरी समेत विदेशी भूमिमा छन्। खेत-बारी, घर, गोठ आदिमै निर्विकल्परूपमा निर्भर जनसंख्याको ठूलो हिस्साका किसान-श्रमजीवीहरूको समेत विभिन्न कारणले उपायहीन बनी विदेश पलायनको बाटो रोजाइले देशको उर्बर माटो बाँझिँदै गएको अवस्था छ र क्रमिकरूपमा बढ्दो विदेशी पाइतालाको दबाब र विदेशी उत्पादनको घोषीत-अघोषित थिचोमिचोले यो भूमि अझ रित्तिँदै र निजी उत्पादकत्व खेर फाल्दै अप्राकृतिक बन्जार बन्दै गएको छ।

त्यसरी नै, अर्कातिर देशमा रहेका कलकलाउँदा किशोर-किशोरीदेखि वयस्कसम्म लागू पदार्थका घातक व्यसनमा फँस्दै गएका छन्। यी दुई पक्ष पनि कुनै न कुनै किसिमले अन्तर-सम्बन्धित छन् भनेर बुझिन थालेको छ। यो स्थितिमा खासगरी, विनाशकारी कुलत-संक्रमणको रोकथाम-नियन्त्रण कसले गर्ने भन्ने सवालमा राज्यले सैद्धान्तिकरूपमा सचेत वा सजग भइरहेको आभास विगत लगभग छ दशक (वि.सं. २०२३ सालदेखि) देखि दिँदै आएको पाइन्छ, तर व्यावहारिक अभ्यासमा वा कार्यान्वयनमा विल्कुलै असफल हुँदै आएको छ। राज्यबाट वि.सं. २०२३ देखि क्रमशः ०३१, ०३३, ०३५, ०६३, ०६६, ०६८, ०७०, ०७५ मा तीनवटा, ०७६, ०७९ साल हुँदै २०८० सम्मको ५८ वर्षमा लागू पदार्थ, लागू औषध आदिका जीवनघाती प्रयोगको दुर्व्यसन र ओसार-पसार कारोबारको नियन्त्रण र कारवाही सम्बन्धी एक दर्जन बढी ऐन-कानून, निर्देशिका, मार्गदर्शन आदि रचना हुँदै किताब-पुस्तिकाहरूका निर्जीव पाना र मौन अक्षरहरूमा थन्किँदै आएका छन्। ती सबैका दफा-दफा विवरण, ठूलो प्रयत्न र परिश्रमले, मेरो पछिल्लो पुस्तकाकार कृति ‘दिव्य दृष्टि’मा अक्षरशः प्रस्तुत गरिएको छ।

EPIC EPIC EPIC

ती ऐन-कानून र निर्देशिकाहरू अभ्यासपटमा पूर्णतः निष्प्रभावी रहेका छन्। यही क्रम रहिरह्यो भने यो देश बूढा नागरिकहरूको ‘बृद्धाश्रम’ मात्रमा सीमित हुन जाने निश्चितप्रायः छ भने नयाँ पुस्तामा डढेलोको रूपमा सल्किरहेको दुर्व्यसनको आगोले समेत ‘भूँसको आगो’ बनेर भित्रभित्रै डढाइरहेको छ। यो डरलाग्दो महामारीलाई समयमै नियन्त्रण गरिएन भने यसले देशलाई साँच्चै ‘जिउँदा लासहरूको देश’ बनाउने पनि निश्चित नै छ। यो कति दुःखद भविष्यको संकेत हो? देशप्रति संवेदनशील बनेर समय थला नपर्दै सोचौं।

त्यसो भएकाले, कसै न कसैले त यो विनाशकारी महामारीको बढ्दो प्रकोप विरुद्ध कम्मर कसेर अगुवाइ गर्नै पर्दछ भन्ने व्यक्तिगत सदाशयबाट अभिप्रेरित भएर मैले विगत २१ वर्षदेखि अविच्छिन्नरूपमा यो अभियान चलाइरहेको छु। ‘दिव्य दृष्टि’ पुस्तक त्यही अभियानद्वारा निस्पन्न प्रथम दस्तावेज हो भन्ने म यसै पुस्तकका अक्षर र शब्दका आधारमा घोषणा गर्दछु। यो अवधारणा राखिरहँदा र ‘दिव्य दृष्टि’ मेरो पाँचौं पुस्तकाकार कृति हुँदाहुँदै पनि यसलाई, यो विद्रुप समस्या विरुद्धको मेरो निष्ठापूर्ण अभियानको वर्तमान सशक्तीकरण-चरणको, पहिलो पाइला मानेको छु। पुस्तकाकार कृतिको गन्ती यस्तो विषयगत लेखनका सन्दर्भमा महत्वपूर्ण हुँदैन भन्ने मेरो बुझाइ छ। किनभने, मैले लागू पदार्थ विरुद्धको मेरो २१ वर्षे अभियानकालमा यो पुस्तकका पन्ना तथ्यपरक बनाउन सबभन्दा बढी समय र परिश्रम गरेको छु। सायद त्यसै कारण अक्षरखेतीका चिन्हित झापाली कलमी हलिहरूले यो पुस्तकलाई ‘सबैले पढ्नैपर्ने पुस्तक’ भनेर किटानका साथ भनेका हुन्। यी अक्षरहरूमा मेरो किंचित आत्मश्लाघा छैन।

वस्तुतः यो पुस्तक गत असोज १९ गते नै लोकार्पित भइसकेको हो। यद्यपि राज्यका जिम्मेवार सबै विभागीय अड्डा र तिनका अख्तियारशाली प्रमुखहरू सदरमुकाममा रहने हुँदा उहाँहरूका नजिकै आएर यस पुस्तकमा मेरा अध्ययन-अनुभवमा सन्निहित आवाजलाई स्वर दिन आवश्यक ठानियो र पुनः दोस्रो पटक जिल्ला सदरमुकाम चन्द्रगढीमा पनि लोकार्पण गरियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *