काठमाडौं । राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आन्दोलनस्थलमै बुझाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले चेतावनी दिएका छन् ।
विभिन्न समूहसहित भइरहेको राजावादी आन्दोलनका क्रममा आइतबार प्रहरीले थापालाई पक्राउ गरेको थियो । थापा पक्राउ पछि लिङदेनले आन्दोलन अराजक हुन नदिने भए तत्काल बुझाउन उनले अल्टिमेटम दिएका हुन् । “हामीसँग यहाँ युवा छैनन् होला त ? तोडफोड गर्नुपर्यो भने सक्दैनन् होला त ? तर, हामीले त्यो चाहेकै छैन,” लिङदेनले भने, “हाम्रो भद्रतालाई कमजोरी ठान्नेहरू, तपाईहरू देश लुटिरहनु हुन्छ, पैसा बुझाउन सक्ने र तपाईले चाहेको मान्छे आईजीपी हुन्छ, तपाईलाई मन नपरेको मान्छे बढुवा नभई रिटायर हुन्छ ।”
उनले अपराध कर्ममा सहभागी रहेका कांग्रेस–एमालेहरूलाई अदालतबाट समेत एकैदिन रिहाइ गर्ने गरेको बताए । “कतै विभेद हुन्छ कि भनेर एकैदिन दुईवटा इजलास चलाएर एमाले र कांग्रेसको अपराधीहरू अदालतबाट छुटाउनु हुन्छ । जिउँदै मान्छे जलाउनेलाई तपाईहरूले छोडिरहनु भएको छ,” लिङदेनले भने, “यो कुरा हामीलाई मात्र होइन नि ! हाम्रो छेउमा उभिनुभएको प्रहरीलाई पनि थाहा छ ।”
उनले गणतन्त्रवादी नेतृत्वले ज्यादती गरिरहेको भन्दै त्यसका विरुद्ध विद्रोहको आँट कसै न कसैले गर्नैपर्ने अवस्था आएको बताए । “तपाईहरूको ज्यादती सबैलाई थाहा भइसकेको छ । त्यसकारण यसका विरुद्ध कसैले त आँट गर्नुपर्यो नि ! हामीले आँट गरेका छौँ,” लिङदेनले हाँक दिँदै भने, “यो ज्यान नेपाली जनताका लागि अर्पण गर्न चाहन्छु म ।”
राजा कसरी ल्याउँछौँ भनेर नेताहरूले आफूहरूलाई हिस्याएको भन्दै बेलायतमा कसरी आएको थियो भनेर इतिहास पढ्न आग्रह गरे । गणतन्त्रवादीहरू असफल भएर नै बेलायतमा राजतन्त्र फर्किएको भन्दै यहाँ पनि गणतन्त्रवादीको ज्यादतीले नै राजतन्त्रको ‘स्पेस’ निर्माण भएको बताए । “राजा कसरी आयो भन्नेहरूलाई म बेलायतमा राजतन्त्र कसरी आएको थियो भनेर इतिहास पढ्न आग्रह गर्छु । १७औँ शताव्दीमा बेलायती राजालाई फाँसी दिएर गणतन्त्र ल्याइएको थियो,” लिङदेनले भने, “गणतन्त्रवादी असफल भएर राजतन्त्र फर्कने बेला ओलीभर क्रमवेलको मृत्यु भइसकेको थियो । क्रमवेलको चिहानबाट निकालेर कंकाललाई फाँसीमा चढाएको स्मरण गराउन चाहन्छु ।”
गणतन्त्रवादीले चुनाव जितेर आउन भनिरहेको भन्दै ००७ साल, ०४६ सालको परिवर्तन चुनावबाट नभएको बताए ।