आन्दोलनको नयाँ कार्यक्रम बनाउन बोलाइएको राजावादी बैठकमा होहल्ला भएको छ ।
धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको ‘संयुक्त जनआन्दाेलन समिति’ काे बैठकमा राप्रपाका कार्यकर्ताले राजेन्द्र लिङ्गदेन अनुपस्थित भएको भन्दै हल्ला गरेका हुन् । कमल थापा बोल्दाबोल्दै लिङ्गदेनका कार्यकर्ता हल्लाखल्लामा उत्रिएपछि समितिका संयोजक नवराज सुवेदीले बैठक स्थगित भएको घोषणा गरे ।
आजको बैठकमा सुवेदी र थापासहित राप्रपा महामन्त्री राजेन्द्र गुरूङ, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्ट, विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीसहित राप्रपा र राप्रपा नेपालका जिल्ला अध्यक्षहरू सहभागी थिए । मञ्चमा बस्ने नेताबाहेक अधिकांशले आन्दोलन प्रभावकारी नभएको भन्दै चर्को आक्रोश पोखेका थिए ।