लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि…

झापा बुद्धशान्ति- ३ की कृतिका बाँस्तोला बिर्तामोडको कलेज जान मंगलबार बिहान सधैं झैं घरबाट निस्किइन्। बीस मिटरनजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो। आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन्।

पूर्वी झापाको मेचीनगर- १५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो। मधुमेहको बिरामी उनी हरेक बिहान पाँच बज्नुअगावै निन्द्राबाट ब्युँझिन्छन्। उक्त बिहान पनि सबेरै ब्युँझिएका उनी आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्कायो। हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्‍यायो। एक्लै लुसुलुसु आउने जंगली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपाने बताउँछन्। 

गाउँका मानिस घरधन्धा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन्। ‘मर्निङ वाक’ हिँड्ने चलन पनि गाउँमा छ। तर बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ।

जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ का मात्र नभएर स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ। ‘हाम्रो छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ’, मेचीनगर- १५ सुकुम्वासी बस्तीका दुर्गाबहादुर बुढाथोकी भन्छन्, ‘बाक्लो हुस्सु लागेको हुन्छ। हात्ती पनि जताततै भेटिन थालेका छन्। कलेज पठाउन पनि डरमर्दो भइसक्यो।’

झापाका १५ वटै पालिका हात्ती प्रभावित छ। डिभिजन वन कार्यालय झापाले जिल्लाको वन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ। जिल्लाको सबैतिर अभिभावक आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल-कलेज पठाउन डराउन थालेका छन्।

बुद्धशान्ति– ३ का सीताराम बाँस्तोलाले बस्तीमा दिनहुँ जंगली हात्ती पस्ने गरेको बताए। साँझ नपर्दै बस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पुर्‍याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन्। जंगली हात्तीबाट जीउधन जोगाउन स्थानीयवासी रातभर जागा बस्ने गरेको बाँस्तोलाले बताए। स्थानीय युवा साँझ पर्नेबित्तिकै हात्तीको गस्तीमा खटिने र रातभर जाग्राम बस्ने गरेको उनले जानकारी दिए।

अभिभावकलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ। ‘जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौ’, उनले भने, ‘स्कुल पठाउँदासमेत चिन्ता हुन थालेको छ। अब घर र सडक कतै पनि सुरक्षित रहेन।’

आज बिहान कलेज जाँदा हात्तीसँग जम्काभेट भएकी कृतिका उनकी दाजुकी छोरी हुन्। कृतिकासँगै भतिज किरण बाँस्तोला सडकमा कलेज बसको हर्न बज्नेबित्तिकै घरबाट निस्किएको जनाउँदै उनले भने, ‘चिसोका कारण बाक्लो हुस्सु लागेको थियो। उनीहरु यताउता नहेरी गाडी रहेको सडकतिर उक्लँदै थिए। एक्कासि सडकमा हात्ती आइपुग्यो।’

दुवै विद्यार्थी बिर्तामोडको निधि कलेजमा पढ्छन्। आज भागेर ज्यान जोगाउन सफल उनीहरु भोलिदेखि कलेज कसरी जाने भन्ने कुराले चिन्तित छन्। दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच हात्ती साँझ पर्नेबित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको उनको भनाइ छ। दैनिकजसो गाउँ डुल्ने जंगली हात्तीका कारण बुद्धशान्तिको जंगल आसपासका बालबालिकादेखि वृद्धवृद्धासम्म घरबाट बाहिर निस्कन डराउँछन्।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जंगली हात्तीको बिगबिगी रहेको स्वीकार गरे। उनले जलथल, पृथ्वीनगर, रंगेडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताए। विभिन्न वनमा छरिएर बसेका र हुल बाँधेर हिँड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उनले बताए।

उनले भने, ‘एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ। कार्यालयसँग जम्मा एउटा गाडी छ। प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौं।’ उनले झापाको जंगलमा हाल ४० वटा जंगली हात्ती रहेको अनुमान गरिएको बताए।

दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको उनले जानकारी दिए। हात्तीलाई जंगलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जंगलवरिपरि राज्यको करोडौं लगानीमा दर्जनौं किलोमिटर लामो विद्युतीय घेराबेरा गरिएको छ। 

स्थानीयले आफूखुसी घरलाई वरिपरिबाट विद्युत् तारले घेर्नेसमेत उपाय गर्दै आएका छन्। तर विद्युत् तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव बस्तीलाई निशाना बनाउन छाडेको छैन। –रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *