झापा– काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले आफ्नो नयाँ प्रकाशन ‘लोकतन्त्र पोस्ट’ म्यागजिन विमोचनको अवसर पारेर आइतबार झापाका १५ जना सिर्जनशील युवालाई ‘पौरखी जेनजी’ सम्मानबाट विभूषित गरेको छ।
श्रम, सिर्जना र आत्मनिर्भरताको मार्गमा अग्रसर २८ वर्ष मुनिका युवा पुस्ता (जेनजी) लाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरिएको हो। विशेष गरी जेनजी पुस्तालाई केन्द्रविन्दुमा राखेर तयार पारिएको म्यागजिनको लोकार्पण समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने युवाहरूको कदर गरिएको थियो।
को-को भए सम्मानित?
विभिन्न विधामा उत्कृष्ट नतिजा निकाल्न सफल १५ युवा प्रतिभाहरूलाई कार्यक्रममा सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा चर्चित गायिका रचना रिमाल र गायक अशोक दर्जीदेखि लिएर इजरायली कम्पनीलाई एप बेचेर चर्चामा आएका प्रविधि क्षेत्रका युवाहरूसम्म छन्।
सम्मानित हुनेहरूको सूची यस प्रकार छ:
- कला/साहित्य/मनोरञ्जन: स्वेता बुढाथोकी (कन्टेन्ट क्रिएटर), रचना रिमाल (गायिका), अशोक दर्जी (गायक), मनिषा राजवंशी (कला क्षेत्र)।
- खेलकुद: कृपा चापागाई (कराते), अनन्त तामाङ (फुटबलर), अंकित सुवेदी (क्रिकेटर)।
- विज्ञान तथा प्रविधि: सविन बास्कोटा (नवप्रवर्तक) र ‘वाइफाई थिप डिटेक्टर’ एप बनाएर इजरायली कम्पनीलाई १३ लाखमा बिक्री गर्न सफल समूह (राहुल, तेज र उत्सव)।
- समाज सेवा/अभियन्ता: कृपेश कार्की (वन्यजन्तु संरक्षक), हरिकृष्ण भण्डारी (धार्मिक अभियन्ता), तनुजा पाण्डे (जलवायु अभियन्ता)।
- अन्य: डा. चेवनराज कार्की, कृपा ढकाल (उद्यमी), जयराम दाहाल (पर्वतारोही)।
सम्मानित युवाहरूको छनौट १५४ जना आवेदकहरूमध्येबाट गरिएको थियो। यसका लागि महेन्द्रकुमार गिरीको संयोजकत्वमा अधिवक्ता तारामणि सापकोटा, फोनिज अध्यक्ष अर्जुन राजवंशी, प्राध्यापक मणिकुमार लिम्बू र पत्रकार पुजन आचार्य सम्मिलित समावेशी समिति गठन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजी, सम्पादक अम्बिका भण्डारी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए।
‘
कार्यक्रममा बोल्दै वक्ताहरूले पछिल्लो युवा पुस्ता (जेनजी) लाई नकारात्मक दृष्टिकोणले नभई समाज परिवर्तनको संवाहकका रूपमा हेर्नुपर्नेमा जोड दिए। परम्परागत रोजगारीको साटो प्रविधि र नवप्रवर्तनमा युवाहरूको आकर्षणले मुलुकको समृद्धिमा टेवा पुग्ने उनीहरूको भनाइ थियो।
म्यागजिनका प्रधान सम्पादक मोहन काजीले भने, “‘पौरखी जेनजी’ केवल म्यागजिन मात्र नभई यो पुस्ताले सुरु गरेको श्रम र उद्यमको आन्दोलनको एक महत्त्वपूर्ण दस्तावेज हो।”



















