झापा । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका छन् । वडाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर राई जापान भ्रमणमा निस्किएका हुन् ।
राईले विदेश भ्रमणको अघिल्लो दिन कमल गाउँपालिका वडा नं। २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक दिएका हुन् । कांग्रेसबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित सुब्बालाई अख्तियारी दिएका छन् । उपाध्यक्ष प्रमिला न्यौपानेले नेकपा एमालेबाट निर्वाचित हुन् ।
उपाध्यक्ष न्यौपानेले कार्यपालिकामा आफूहरूको बहुमत भएकोले आज बैठक गरेर यसबारे निर्णय गर्ने बताइन् । “अध्यक्ष नहुँदा उपाध्यक्षलाई कार्यबाहक जिम्मेवारी दिने व्यवस्था छ । त्यो मेरो अधिकार पनि हो,” उनले भनिन्, “उपाध्यक्ष नहुँदा मात्रै अरुलाई दिने हो । उहाँले किन त्यसो गर्नुभयो मलाई पनि अचम्म लागेको छ । हामीबीच कुनै विवाद पनि थिएन । कार्यपालिका बैठक बस्दै छौं । कार्यपालिकामा हाम्रो बहुमत समेत छ । बैठक बसेर केही निर्णय गर्छौं ।”
उनले वडाध्यक्षलाई कार्यबाहक दिने अध्यक्षको कदमविरुद्ध आफू अदालत जान लागेको समेत बताइन् । “उहाँले नियमविपरीत वडाध्यक्षलाई कार्यबाहक दिनुभएको छ । म उहाँको कदमविरुद्ध हदालत जाने तयारीमा छु,”उनले भनिन्, “आजै वा भोलिसम्म रिट दायर गरेर स्टे अर्डर लिएर आउँछु ।”
भदौ १ गतेदेखि कार्यबाहकको जिम्मेवारी दिइएको पत्रमा मिति भने “मिस्टेक्ली”साउनको लेखिएको उनले बताइन् ।