काभ्रे : काभ्रेको रोशी गाउँपालिकामा बिहीबार बिहान भएको बस दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुर्घटना बिहान ८:२५ बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ दाउनेमा भएको हो। काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
७३ वर्षीया सुन्तली बिकको अवस्था गम्भीर रहेको जनाइएको छ। उनी सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ की बासिन्दा हुन्।
प्रहरीका अनुसार वर्षाका कारण ब्रेक नलाग्दा बस अनियन्त्रित भई खाँदबारीबाट काठमाडौँ आउँदै गरेको मे १ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएर सडकबाट करिब २० मिटर तल खसेको हो। बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएका छन्।
घाइतेहरूको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी सहायक निरीक्षक पुस्कर श्रेष्ठको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली खटिएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।