झापा- नेकपा एमाले झापा ५ ले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
आज बसेको क्षेत्रीय कमिटी बैठकले राष्ट्रिय स्वाधिनताका नायक, बिकाश र समृद्धिका योजनाकार रहेका अध्यक्ष ओलीलाई नै उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । ‘आगामी निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीलाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णयसहित एकल नाम सिफारिस भएको छ ।
झापा र यस क्षेत्रको मात्र नभएर देशकै स्वाभिमान र बिकाशको नायक भएकोले जनताको चाहना र मागअनुसार निर्णयसहित एकल सिफारिश भएको हो,’ निर्णयबारे जानकारी दिँदै सोही क्षेत्रका नेता रहनुभएका एमाले झापाका सचिव तुलसी कार्कीले जनताटाइम्स डटकमसँग भन्नुभयो ।
एमाले अध्यक्ष ओली २०४८ सालदेखि सोही निर्वाचन क्षेत्रबाट बिजयी बन्दै आउनु भएको छ । केपी ओलीको निर्वाचन क्षेत्रको रुपमा परिचित झापा ५ बाट उहाँ २०६४ सालमा भएको पहिलो संबिधानसभाको निर्वाचन मात्र पराजीत हुनुभएको थियो । अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ एमाले सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका अन्य थुप्रै नेताहरू मतदाता रहनुभएको छ ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार भर्खरै सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णयसहित एकल नाम सिफारिस गरिएको छ । झापा ५ का मतदाता केपी ओलीबाहेक अन्यलाई उम्मेद्वारका रुपमा स्वीकार गर्नसमेत तयार नभएको तथ्य क्षेत्रीय कमिटीको यस निर्णयले पुनः प्रमाणित गरेको छ ।



















