झापा– नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा सोमबार सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रथम स्थान हासिल गरेका झापाको बुद्धशान्ति २, जयपुरस्थित आदर्श माध्यमिक विद्यालयका विद्यार्थी विशाल सहनीलाई मंगलबार विद्यालयले एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।
विशालले यो प्रतिष्ठित सफलता ‘ट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्ट’ नामक आफ्नो अनुसन्धानमूलक परियोजनामार्फत हासिल गरेका थिए।

प्रदर्शनीमा प्रस्तुत गरिएको विशालको उक्त परियोजनाले निर्णायक मण्डल र दर्शकहरूको समेत विशेष ध्यान खिचेको थियो। यस परियोजनाले विद्युत् प्रसारण लाइनमा आउने समस्याहरू (फल्ट) लाई स्वचालित रूपमा पत्ता लगाउने प्रविधि प्रदर्शन गरेको थियो, जुन वर्तमान ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण मानिएको छ।
विशाल सहनीलाई विद्यालयका विज्ञान शिक्षक अरुण ढुंगेलले उक्त परियोजना तयार पार्नका लागि प्राविधिक मार्गदर्शन र आवश्यक सहयोग प्रदान गरेका थिए। शिक्षक ढुंगेलले प्रदर्शनीमा लैजानका लागि सुरुमा तीनवटा फरक-फरक प्रोजेक्ट तयार पारिएको र तीमध्ये ‘ट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्ट’ लाई उत्कृष्ट ठहर गर्दै प्रदर्शनीमा प्रस्तुत गरिएको जानकारी दिए।
विशालको यस ऐतिहासिक सफलतामा विद्यालयले गर्व महसुस गरेको विद्यालयका प्रधानाध्यापक हरि पोखरेलले बताए। “विशालले विद्यालयका लागि मात्र नभई समग्र बुद्धशान्ति नगरपालिका र कोशी प्रदेशकै लागि ठूलो गौरवको विषय सिर्जना गरेका छन्,” प्रधानाध्यापक पोखरेलले भने, “यो सफलताले अन्य विद्यार्थीहरूलाई पनि विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ आविष्कारका लागि प्रेरित गर्नेछ।”
सम्मान कार्यक्रममा विद्यार्थी सहनीका सहयोगी विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। साथै, विशालको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेका उनका बुवा-आमालाई समेत विद्यालयले दोसल्ला ओडाएर सम्मान गरेको थियो।