मेरो देशमा फुलिरहोस् लालीगुराँस सदाबहार,
सगरमाथामा फहराओस् चन्द्रसूर्य सदाबहार।
एकतामा दाजुभाइ बाँचिरहून् चिरञ्जीवी,
एकढिक्का नेपाल र नेपालीत्व सदाबहार।
विदेशिएका मन
नेपालीहरू मात्रै विदेशिने गरेका हुन् त? र, आज मात्रै विदेश जाने प्रचलन सुरु भएको हो त? होइन। विश्वका हरेक मुलुकका नागरिकहरू अवसरको खोजीमा विदेशिने गरेका छन्, चाहे ती विकासोन्मुख मुलुकका हुन् या शक्तिशाली राष्ट्रका। नेपाल पनि यसबाट अछुतो रहन सकेन। अझ नेपालजस्तो अल्पविकसित मुलुकमा अवसरको खोजी त अपरिहार्य भइहाल्यो।
बेरोजगारी, न्यून आय, गरिबी, द्वन्द्व र राजनीतिक अस्थिरताले ग्रस्त देशबाट जनशक्ति पलायन हुनु अनौठो होइन। जब देशमा बोलवाला, नातावाद, कृपावाद, भ्रष्टाचार र असक्षम नेतृत्व हुन्छ, तब जनशक्ति बाहिरिनु स्वाभाविक नै हुन्छ।
आजको दिनमा त्यही विदेशिएका जनशक्तिको रेमिट्यान्स नेपाली अर्थतन्त्रको मुख्य आधार बनिसकेको छ। तर दुःखको कुरा के छ भने, ती विदेशिएका नेपालीहरूलाई कहिलेकाहीँ त सरकारकै जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गरेर चोट पुर्याउँछन्।
रेमिट्यान्सले अर्थतन्त्र चलिरहेको छ तर राज्यको रवैयाले भने विदेशिएकालाई निरुत्साहित बनाउने काम भइरहेको छ। सम्मान दिनुको साटो उनीहरूलाई नागरिकता खोस्ने, अवमूल्यन गर्ने, आफ्नै घरको ढोका बन्द गरिदिने नीतिले थप पीडा दिएको छ।
विदेशिएका नेपालीहरूले नेपाललाई माया गर्दैनन् भन्ने होइन। म अष्ट्रेलियामा बसाइका क्रममा धेरै नेपाली दाजुभाइ, दिदीबहिनीसँग भेट्न पाउँदा थाहा पाएँ–उहाँहरू भन्छन्, “नेपाल जान मन लाग्छ, नेपालका लागि केही गर्न मन लाग्छ।” ८/८ घण्टा उभिएर काम गरेर पनि नेपालमा आपत परे, सेमिनार वा गोष्ठी परे, सक्दो सहयोग गर्छन्।
तर प्रश्न उठ्छ–के पठाइएको सहयोग, रकम वा भावना राष्ट्र निर्माणमा प्रयोग भैरहेको छ त? जब सदनमा भ्रष्टाचारको आरोप–प्रत्यारोप सुन्छौँ, तब त्यही मन खिन्न हुन्छ। विदेशी साथीहरूलाई नेपालको वर्तमान अवस्था देखाउँदा लाज लाग्छ।
अझ धेरैले दुःखका साथ भनिरहेका छन्–”हामीलाई त अब आफ्नै देश पराइजस्तो हुन थालेको छ।”
नेपालबाट विश्वभरि नेपालीहरू दुई किसिमले विदेशिएका छन्:
१) अस्थायी रूपमा–जस्तै कामका लागि (वर्क पर्मिट) जानेहरू।
२) स्थायी रूपमा–जस्तै अध्ययन, डिभी, स्किल माइग्रेसन आदिका माध्यमबाट।
खाडी मुलुक, कोरिया, मलेसिया लगायत देशहरूमा श्रम स्वीकृति लिएर गएका नेपालीहरू समयावधि सकिएपछि फर्कनैपर्ने हुन्छ। यता अष्ट्रेलिया, अमेरिका, क्यानडा, युरोपमा भने शिक्षा, डिभी, स्किल माइग्रेसनजस्ता विधिबाट स्थायी बसोबास गर्ने प्रवृत्ति बढ्दै गएको छ। यहाँको विभेदरहित नीति, श्रमप्रति सम्मान, मानवता र अवसरहरूले प्रभावित भएर स्थायीतर्फ आकर्षण बढेको हो।
यदि नेपालबाट दक्ष र उच्च दक्ष जनशक्ति निरन्तर पलायन भइरह्यो भने, जसरी आज पहाडका बस्तीहरू खाली हुँदैछन्, भोलिको दिनमा देश नै उजाड बन्ने खतरा छ। छिमेकी मुलुकका नागरिकहरू नेपालमा काम गर्न आउँछन् र नेपालीहरू चाहिँ बाहिर जान बाध्य छन्। यो गम्भीर विषय हो।
अब नेतृत्व, राजनीतिक दलहरू, प्रशासकहरू सबैले दिमागको ताला खोल्नुपर्छ। जनताको अवस्था, जीवनस्तर, राष्ट्रिय स्वाभिमान र एकता सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्छ। केवल गाली–गलौज, आरोप–प्रत्यारोप, भाषणले मात्र देश बन्ने छैन।
परिवर्तन भनेको व्यवहारमा देखिनुपर्छ। शासनको शैलीमा, काम गर्ने तरिकामा, नागरिकप्रतिको दृष्टिकोणमा परिवर्तन आउनुपर्छ।
“खुसी नेपाली, समृद्ध नेपाल” भन्ने सपना देखिएको हो। त्यो सपना साकार पार्न देशभित्र र बाहिर रहेका सबै नेपालीको योगदान आवश्यक छ। विशेषगरी विदेशिएका दक्ष जनशक्तिलाई देशमै प्रयोग गर्ने वातावरण बनाउन सक्नुपर्छ।
म अष्ट्रेलियामा रहँदा देखेको अनुभूति यही हो–विदेशिएका नेपालीहरूमा देशको माया छ, योगदान दिन चाहन्छन्। तिनीहरूको पीडा, तिनीहरूको भावना बुझ्ने र सम्मान गर्ने हो भने, ती मनहरू नेपालकै धन बन्न सक्नेछन्।
इन्द्र प्रसाद ओली
अध्यक्ष
चेतना नेपाल
हाल: अष्ट्रेलिया