दिपेन्द्र लुइँटेल भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका बुवा गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उपचारका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर बहुमुखी क्याम्पसले आर्थिक सहयोगको अपिल गरेको छ ।
क्याम्पसका विद्यार्थी संगम विश्वकर्माका बुवा फोक्सोको संक्रमणका कारण हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहनुभएको छ । निरन्तर उपचार आवश्यक परेकाले परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको स्ववियुले जनाएको छ ।
स्ववियुका सभापति सोविन तामाङले संगमका बुवाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले जीवन रक्षाका लागि सबै पक्षको सहयोगको अपिल गरिएको जानकारी दिनुभयो ।

















