काठमाडौं । हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको खोजीका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदैछन्। बिहान ९ बजे फ्लाइ दुबईमार्फत उनीहरू त्यसतर्फ प्रस्थान गर्ने तय भएको हो।

विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न र आवश्यक समन्वयका लागि इजरायल सरकारको निमन्त्रणामा उनीहरू त्यहाँ जान लागेका हुन्। नेपालका लागि इजरायली दूतावासले उनीहरूका लागि विमान टिकटको व्यवस्था गरेको दूतावास स्रोतले जनाएको छ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत रोजगारीका लागि इजरायल गएका २२ वर्षीय विपिनलाई २०८० साल असोज २० गते पलेस्टाइनी लडाकु समूह हमासले अपहरण गरी बन्धक बनाएको बताइएको छ। जोशीको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।