काठमाडौं — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीको नाम परिवर्तन गरी कम्युनिस्ट पार्टी नेपाल राख्ने तयारी थालेको छ। निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाउने तयारीमा नेकपाले नाम परिवर्तनबारे केन्द्रीत छलफल गरिरहेको छ।
चैत १८ गते बसेको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गर्दै सो प्रक्रिया व्यवस्थित बनाउन तीन सदस्यीय कार्यदल गठन गरेको हो। स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा गठित कार्यदलमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल सदस्य छन्।
वर्तमानमा लोकनारायण सुवेदीको नाममा आयोगमा दर्ता भएकाले नयाँ नामसहित पुनः दर्ता गर्न महासचिव विप्लवले जेठ दोस्रो साता केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठकले प्रस्तावित नाम अनुमोदन गरेपछि आयोगमा दर्ता प्रक्रिया अघि बढाइने कार्यदल संयोजक बुढाथोकीले जानकारी दिए।