जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले विवाह समारोहमा डान्स गर्दै पेस्तोल पड्काएपछि सप्तरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरीसमेत रहेकी डा. बबीले सप्तरीको बोदेबर्साइनमा आयोजित एक विवाह कार्यक्रममा पेस्तोल बोकेर डान्स गरेकी थिइन्। उक्त अवसरमा उनले पेस्तोल पड्काएकी थिइन्, जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भिडिओ सार्वजनिक भएपछि नेतृ डा. बबीले आफूले प्रयोग गरेको पेस्तोल ‘खेलौना’ भएको दाबी गरेकी छन्। तर, पेस्तोल असली हो वा नक्कली भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान थालेको हो।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले डा. बबीलाई अनुसन्धानका लागि बोलाएको जानकारी दिए। उनले भने, “पेस्तोल नक्कली नै हो भनेर अहिले नै भन्न सकिन्न। उहाँलाई सोधपुछका लागि बोलाइएको छ। एक घण्टामा आउँदै हुनुहुन्छ।”
उनका अनुसार डान्स गर्दै पेस्तोल पड्काएको भिडिओ र उक्त पेस्तोलसम्बन्धी विवरण आवश्यक अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाइनेछ।