काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोटलाई मध्यनजर गर्दै महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट आगामी जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालको घरेलु मैदानमा हुँदैछ । उक्त छनोटको तयारीका लागि क्यानले मुख्य प्रशिक्षक माग गरेको हो।

क्यानले पहिलोपटक महिला टोलीका लागि विदेशी प्रशिक्षकको खोजी गरेको छ । बेलाबखत महिला खेलाडीहरुले नै माग गर्ने गरेको विदेशी प्रशिक्षक यसपटक क्यानले नै खोजी गरेको हो । क्यानले मुख्य प्रशिक्षकको आवेदन दिन इसिबी/सीए लेभल–३ को कोर्ष प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । उक्त कोर्ष गरेका नेपालमा दुईतिन जना मात्रै छन् । लेभल–३ गरिसकेका विनोद दास क्यानमा छन् भने जगत टमाटाले लामो समय नेपाली टोली सम्हालिसकेका छन् ।
विदेशी प्रशिक्षण ल्याउने गरी नै मापदण्ड बनाइएको क्यानका एक सदस्यले बताए।
‘जगत गुरुले पनि लामो समय गरिसक्नुभयो नेपालका लागि । अरु सबै नेपाली प्रशिक्षक हेरिसकियो । केटीहरुको कुरा के छ भने हाम्रो प्रोगेसका लागि विदेशी कोच चाहिन्छ भन्ने हिसाबले इनडाइरेक्ली रुपमा ल्याएको हो,’ ती सदस्यले भने।
विश्वकप छनोट मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । १० टोली सहभागी हुने छनोटमा शीर्ष ४ मा रहने टोली आगामी जुनमा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । आवेदन दिन लेभल–३ कोर्षसँगै कम्तीमा ५ वर्षमा कोचिङ गरेको अनुभव हुनुपर्नेछ । अक्टोबर २५ भित्र आवेदन दिन सकिनेछ ।



















