काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–७ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको वालिङ नगरपालिका–१ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने २८ वर्षीय राजन अर्याल रहेका छन् ।
पक्राउ परेकामध्ये राजनले १ जना पीडितबाट ३ लाख रूपैयाँ र जयनारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।