झापा। नेपाल शिक्षक महासङ्घले घोषणा गरेको दोस्रो चरणको आन्दोलन जारी छ। राजनीतिक दलका केन्द्रीय पार्टी कार्यालय घेराउपछि शिक्षकहरू हाल रिले अनशनमा छन्।
महासङ्घले आन्दोलनलाई थप सशक्त बनाउन चैत २० गतेदेखि काठमाण्डू केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने घोषणा गरेको छ। सोका लागि देशभरका शिक्षकलाई अनिवार्य रूपमा काठमाण्डू उपस्थित हुन सर्कुलर जारी गरिएको छ। साथै, चैत १६ भित्रै जिल्लास्तरीय प्रधानाध्यापक भेला सम्पन्न गर्न अनुरोध गरिएको छ।
बुधबार जारी सूचनामा महासङ्घले चैत २० बाट शिक्षा मन्त्रालय तथा स्थानीय तहबाट आयोजना हुने गोष्ठी, सेमिनार, तालिम बहिष्कार गर्न शिक्षकहरूलाई निर्देशन दिएको छ। साथै, आन्दोलन अवधिभर एसईई लगायत कुनै पनि परीक्षाका उत्तरपुस्तिका मूल्यांकन नगर्न समेत आग्रह गरिएको छ।
शिक्षक आन्दोलनलाई थप सशक्त बनाउन अभिभावक सङ्घ-संस्था, विद्यार्थी सङ्गठन तथा विद्यालय व्यवस्थापन समितिहरूलाई समर्थन जनाउन महासङ्घले अपिल गरेको छ।
यसैबीच, महासङ्घले शिक्षा मन्त्रालयले गठन गरेको मन्त्रीस्तरीय वार्ता टोलीसँग छलफल नगर्ने घोषणा गरेको छ। महासङ्घका अनुसार शिक्षा समितिमा विधेयक संशोधनसम्बन्धी छलफल जारी रहेकाले मन्त्रीस्तरीय वार्ता गर्नुको औचित्य छैन।
महासङ्घले शिक्षा विधेयकमाथि छलफललाई तीव्र बनाउँदै शिक्षा ऐन शीघ्र जारी गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।