झापा– झापाको कचनकवल गाउँपालिका ३ मा रहेको पथरिया माध्यमिक विद्यालयमा शिक्षक र लेखा कर्मचारी नियुक्तिका लागि तय भएको लिखित परीक्षा स्थगित भएपछि विवाद चुलिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव र गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीबीच परीक्षा स्थगनको कारण र यसमा कसको भूमिका भन्नेबारे आरोप-प्रत्यारोप देखिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवको खण्डन:
अध्यक्ष यादवले आफ्नी छोरी परीक्षार्थी रहेकाले नियुक्त नहुने भएपछि परीक्षा रोकेको भन्ने आरोपको खण्डन गरेका छन्। मिडियामा यसबारे समाचार आएपछि उनले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका हुन्। उनले आफ्नै स्वास्थ्यमा गम्भीर समस्या आएकाले परीक्षा रद्द गर्नुपरेको तर्क प्रस्तुत गरेका छन्।
यादवले भने, “गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले मेरो उपस्थितिबिना शिक्षा समितिको बैठक राखे। मलाई विद्यालयको अध्यक्षबाट हटाउन लबिङ गरे। म मुटु रोगी मान्छे। परीक्षको अघिल्लो दिन साह्रै तनाव भयो। अलिअलि चिसो पनि खाइदिएँ। भोलिपल्ट स्वास्थ्यमा निकै समस्या भयो। परीक्षा स्थगित गरिएको पत्र पठाएँ।”
उनले चाँडै परीक्षाको नयाँ मिति तोक्ने बताएका छन्। साथै, गत जेठ ७ गतेका लागि तय गरिएको परीक्षामा उनकी छोरी श्रृजना यादव पनि परीक्षार्थी थिइन्। यद्यपि, उनीमाथि प्रश्न उठेकाले अब आफ्नी छोरी परीक्षामा नबस्ने यादवले स्पष्ट पारेका छन्। “मेरी छोरीले परीक्षामा बस्नै नहुने भन्ने त कतै लेखिएको छैन होला नि। कि कतै प्रतिस्पर्धा नै गर्न नपाउने हो? तर ममाथि प्रश्न चिह्न उठेपछि छोरीले परीक्षा दिन्न,” उनले भने।
गाउँपालिका अध्यक्ष राजवंशीको जवाफ:
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले परीक्षा स्थगित भएको स्वीकार गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवका विरुद्ध आफूले कुनै गतिविधि नगरेको बताएका छन्। उनले यादवका बारेमा मिडियामा पनि नबोलेको तर उल्टो यादवका केही अभिव्यक्तिबारे आफूले चासो दिएको दाबी गरे।
राजवंशीले यादवको भनाइको खण्डन गर्दै भने, “परीक्षाका लागि विज्ञापन आफैं खुलाउने, निवेदन आफैं लिने, परीक्षा स्थगित आफैं गर्ने अनि मलाई दोष दिएर हुन्छ र?”
मिडियामा एउटा कुरा बोलेर अहिले ‘मैले बोलेको होइन’ भन्दै प्रचार गरिरहेको र सामाजिक सञ्जालमा पनि सोही प्रकृतिका स्टाटस यादवले लेखेका छन्। उनले मिडियाकर्मीलाई दोष लगाएर आफू ‘पानीमाथिको ओभानो’ जस्तो गरिरहेका छन्।
विवादको जड
गत जेठ ७ गतेका लागि तय गरिएको करार शिक्षक (अङ्ग्रेजी) र विद्यालय लेखा कर्मचारी पदको लिखित परीक्षा अध्यक्ष यादवको ‘एकल हस्तक्षेप’ का कारण अन्तिम समयमा आएर स्थगित भएको थियो।
परीक्षा समितिमा संयोजक रहेका यादवले कुनै बैठक वा छलफल नगरी, बिहान १०:३० बजे आफू उपस्थित नहुने जनाउँदै प्रधानाध्यापकलाई पत्र पठाएर परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए। यो निर्णय शिक्षा ऐन, नियमन तथा स्थापित कार्यविधिको उल्लंघन भएको आरोप छ।
शिक्षा शाखा प्रमुख मनिता बरालले परीक्षासम्बन्धी सम्पूर्ण फाइल हाल बन्द अवस्थामा रहेको र नयाँ मिति तय गर्न समितिबाट प्रस्ताव आएपछि मात्र प्रक्रिया अगाडि बढाइने जानकारी दिएकी छन्। यस विवादले पालिकाको शिक्षा प्रणालीमै गम्भीर प्रश्न उठाएको छ।