झापा। झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ शिवगञ्जस्थित एक व्यक्तिलाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा प्रहरीले परमानन्द साहको घरमा छापा मार्दा प्रतिबन्धित लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार बुधबार साँझ करिब ५:२० बजे साहको घरमा चेकजाँच गर्दा उनकाे बेडको सिरानीमुनि खुकुरी चुरोटको बट्टाभित्र प्लास्टिकले बेरिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने ४६ वटा साना पोका फेला परेको थियो।
उक्त पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ४ ग्राम २३० मिलिग्राम तथा प्लास्टिक हटाएर २ ग्राम ९०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न भएको आशंकामा परमानन्द साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो।