शिवसताक्षी । झापाको कमल गाउँपालिकामा जारी अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको छ। आयोजक कमल गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि जितेको हो।
शिवसताक्षीका तर्फबाट सचिन श्रेष्ठ र उमेश दनुवारले एक/एक गोल गरेका थिए भने कमल गाउँपालिकाले एक आत्मघाती गोल उपहार दिएको थियो। खेलको म्यान अफ द म्याच शिवसताक्षीका उमेश दनुवार घोषित भए।
त्यस्तै, सर्वोकृष्ट डिफेन्डर कमल गाउँपालिकाका विदुर लिम्बु, सर्वोकृष्ट मिडफिल्डर कमल गाउँपालिकाका सुरज आङ्देम्बे, सर्वाधिक गोलकर्ता शिवसताक्षीका सचिन श्रेष्ठ तथा सर्वोकृष्ट खेलाडी शिवसताक्षीका श्रवण मल्लिक घोषित भएको आयोजक कमल गाउँपालिकाले जनाएको छ।
विजेता टिम शिवसताक्षीले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कमल गाउँपालिकाले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
विजेता तथा उपविजेता टिमलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने र शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफेले पुरस्कार वितरण गरेका थिए।
विजेता बनेसँगै आगामी वर्षको अन्तरपालिका फुटबल प्रतियोगिता शिवसताक्षी नगरपालिकाले आयोजना गर्ने भएको छ। प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता रहेको थियो भने कमल गाउँपालिकाको गुहेश्वरी आधारभूत विद्यालय खेलमैदानमा खेल सञ्चालन भएको थियो।