बुधबारे । ॐ कारेश्वर शिवालय मन्दिर बुद्धशान्ति–३ कञ्चनबारीले श्रावणी पर्वको अवसरमा लगाइएको पूजाबाट संकलन भएको रकम सार्वजनिक गरेको छ । मन्दिर समितिका अध्यक्ष छत्रबहादुर बिष्टको अध्यक्षतामा आय व्यय सार्वजनिक गरिएको हो ।
श्रावाणी पर्वको अवसर पारेर मन्दिर समितिले एक महिनाभरी रुद्राभिषेक पूजा, जर्लापण तथा पुरुषोत्तम महात्म्य कथावाचनको कार्यक्रम आयोजना गरेको थियो । उक्त काय्र्रक्रममा बुद्धशान्ति लगायत झापाका विभिन्न क्षेत्रबाट करिव ५ सयबढी भक्तजनले पूजा गरेका अध्यक्ष बिष्टले बताएका छन् ।
उक्त एक महिनामा भएको धार्मिक कार्यक्रमबाट उठेको रकम समेत सार्वजनिक गरिएको हो । रुद्राभिषेक तथा श्रावणी पर्व, अक्षयकोष, आजिवन सदस्यता वापत रु २ लाख ३३ हजार ९ सय ७६ रुपैयाँ संकलन भएको मन्दिर समितिका कोषाध्यक्ष दुर्गा बाँस्कोटाले बताएका छन् । त्यसमा गुरु दक्षिणा, खाद्यान्न, प्रसाद, पूजा सामग्रीमा ५६ हजार ६ सय २१ रुपैयाँ खर्च भई १ लाख ७७ हजार ३ सय ५५ रुपैयाँ बचत भएको कोषाध्यक्ष बाँस्कोटाले बताए ।
मन्दिर समितिका अध्यक्ष बिष्टले एक महिनाभर कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सम्पूर्ण दातालाई धन्यवाद दिएका थिए । उनले आउँदो ऋषितर्पणी(जनै पूर्णिमा)को अवसर पण्डित भीम प्रसाद खतिवडा र श्रीप्रसाद खनालको अगुवाईमा जनै मन्त्रिने कार्यक्रम समेत राखिएकाले उपस्थित भइदिन सम्पूर्णमा अनुरोध समेत गरेका छन् । त्यस्तै पूजा उपसमितिको संयोजकत्वमा हरितालिका तिज कार्यक्रम समेत गरिने बताइएको छ ।