संखुवासभा । संखुवासभाका एक हजार नौ सय ८० परिवारको फुस (खर)को छानो हटाएर जस्तापाता लगाइने भएको छ । यसका लागि तथ्यांक संकलन सुरु गरिएको छ ।
विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकको आवास सुरक्षित बनाउने उद्देश्यले फुसको छानो हटाएर सरकारी अनुदानमा जस्तापाता उपलब्ध गराउन लागिएको हो । सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत फुसको छानो हटाउने अभियान सुरु हुन लागेको सांसद राजेन्द्र गौतमले बताए ।
यसका लागि सांसद गौतमको संयोजकत्वमा सुरक्षित आवाससम्बन्धी समिति गठन भएको छ । समितिले भूगोल र जनसंख्याका आधारमा जिल्लाको १० वटै स्थानीय तहलाई संख्यासमेत छुट्याएको छ ।