काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाएर विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागिय कारवाही गरेको छ ।
उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्वीर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबूक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
कारवाही परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ जना छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाई गराइएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालले संगठनबारे प्रकाशित भएका समाचारहरूमा नकारात्मक टीकाटिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कारवाही गर्दै आएको छ । संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्नका लागि सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्वीर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीमाथि विभागीय कारवाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयलाई निर्देशन दिएको छ ।
फागुन ४ गते मातहत कार्यालयमा आदेशात्मक पत्राचार गर्दै कारवाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना र जवान २१ जना रहेका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।