काठमाडौं। विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै वेल घेराउ गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा जवाफ दिन गृहमन्त्री लेखकलाई बोल्न समय दिएपछि रास्वपा नाराबाजीसँगै वेल घेराउमा उत्रिएको हो ।
रास्वपाको नाराबाजी र वेल घेराउका बीच गृहमन्त्री लेखकले भने जवाफ दिइरहेका छन् । शुक्रबारको बैठकमा दलीय आधारमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राप्रपा र रास्वपालाई बोल्न सभामुख घिमिरेले समय दिएका थिए ।
रास्वपाको तर्फबाट बोल्दै सांसद मनिष झाले संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहेको बताएका थिए । झाले बोलेपछि रास्वपाका सांसदहरूले नाराबाजी र वेल घेराउ सुरु गरेका हुन् ।