झापा – हिन्दू धर्मावलम्बीहरूले आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ्य दिएर समापन गरिएको छ ।
खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै ब्रत बसेका ब्रतालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व अन्त्य गरेका हुन् ।

कसार, ठेकुवा, केरा, उखु, मेवालगायतका फलफुल एवं भुसवा, माटोले बनाइएको हात्तीको प्रतिमा, सुप, कनसुपतीसहितको कलशलाई अर्घ्यसँगै सूर्यलाई चढाउने गरिन्छन् । त्यसरी चढाइने ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रतिको समर्पण मानिएको छ ।

हिजो बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरेका उनीहरूले आज सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । ब्रतालुहरूले हातमा पिठार र सिन्दुर लगाएर केरा, नरिवल, उखु लगायतका फलफुल सुर्यलाई चढाएका छन् ।
सूर्यलाई चढाइसकेपछि घाटबाट घर फर्किएका ब्रतालुहरूले फलफुल, ठेकुवालगायतका सामग्री प्रसादिका रूपमा घरपरिवार र छरछिमेकलाई बाँड्ने गरेका छन् ।