सोलुखुम्बु, थामे —
कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको जलवायु परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। सोलुखुम्बुको थामेमा साथसाथै फाउन्डेसनद्वारा आयोजित ‘हिमाली आरोही सम्मेलन’मा बोल्दै उहाँले हिमालमा घट्दो हिउँको मात्रा सम्पूर्ण विश्वका लागि खतरा भएको बताउनुभयो।
सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र सोही वर्ष सगरमाथा सफलतापूर्वक आरोहण गरेकी राजकुमारीले हालको हिमाली यात्रा विगतको भन्दा निकै भिन्न रहेको अनुभव सुनाउनुभयो। “पहिला हिमाल उज्यालो र जीवन्त देखिन्थ्यो, अहिले चट्टान खुला र हिउँ हराउँदै गएको छ,” उहाँले भन्नुभयो।
गत वर्ष सगरमाथा क्षेत्रमा हिमताल विस्फोट हुँदा थामे बस्तीमा ठूलो क्षति पुगेको थियो। दर्जनौं घर विस्थापित हुँदा शिक्षा, यातायात र विद्युत् सेवा प्रभावित भए। राजकुमारीले यस्ता विपद् जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको उल्लेख गर्दै, पूर्वसूचना प्रणालीको आवश्यकतामा जोड दिनुभयो।
राजकुमारी थानीले सगरमाथा केवल नेपालको नभई सम्पूर्ण मानव जातिको साझा सम्पत्ति भएको बताउँदै, यसको संरक्षणमा अन्तरराष्ट्रिय समुदायको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। “सगरमाथा अब फोटोमा सीमित नहोस् भन्न चाहन्छौँ भने विकास योजनाहरूमा हिमालको अस्तित्वलाई प्राथमिकता दिनुपर्छ,” उहाँको भनाइ थियो।
सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था र विदेशी पर्वतारोहण समुदायबीच सहकार्यको आवश्यकता औँल्याइएको छ। प्रस्तुत तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रको तापक्रम दशकैपिच्छे बढ्दै गइरहेको छ, जसको असर हिमनदीहरूमा प्रत्यक्ष देखिन थालेको छ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश समेत सार्वजनिक गरियो। उनले सम्मेलनलाई सगरमाथा संवादको औपचारिक तयारीका रूपमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
राजकुमारीको अन्तिम सन्देश : “हिमाल हाम्रो आत्मा हो। यसलाई जोगाउनु हाम्रो दायित्व हो।”