कचनकवल। झापाको कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत संघीय सरकार र विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक पूर्वाधार विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ।
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईद्वारा प्रस्तुत बजेट वक्तव्यको बुँदा नम्बर ९ मा कचनकवललाई ‘विकासको आधार, कालोपत्रे सहितको सडक पूर्वाधार’ नाराका साथ यो आर्थिक वर्षलाई सडक पूर्वाधारमा ‘गौरवको वर्ष’ का रूपमा घोषणा गरिएको छ।
गाउँपालिकाले सडक पूर्वाधार विकासका लागि संघीय र प्रदेश सरकारसँगको सहकार्य अपरिहार्य रहेको भन्दै यस वर्ष संघबाट करिब ३५ करोड र प्रदेश सरकारबाट करिब १० करोड रुपैयाँ सडक पूर्वाधारका लागि प्राप्त भएको जनाएको छ। उपाध्यक्ष भट्टराईले यो सहयोगलाई ‘ऐतिहासिक उपलब्धि’ को संज्ञा दिँदै यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला, संघीय सांसद सुनिता बराल र पूर्व प्रदेश सभा सदस्य बसन्त बानियालगायत संघीय सरकारका सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
त्यस्तै, कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, राज्यमन्त्री भूमि प्रसाद राजवंशी र प्रदेश सभा सदस्य निमसरी राजवंशी प्रति पनि गाउँपालिकाले आभार व्यक्त गरेको छ।

गाउँपालिका आफैँले पनि १३ वटा सडक कालोपत्रे गर्ने गरी बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको उपाध्यक्ष भट्टराईले जानकारी दिए। गत आर्थिक वर्ष २०८१/८२ मा ४.५ किलोमिटर सडक कालोपत्रे गरेको कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा ४० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ।
उपाध्यक्ष भट्टराईले ‘बन्दैछ कचनकवल’ भन्ने नाराले सार्थकता पाउँदै गएकोमा खुसी व्यक्त गरे।