- निशान निरौला
इलाम। इलामको सूर्योदय नगरपालिकाबाट रोङ गाउँपालिका हुँदै झापाको निन्दासम्म पुग्ने सडक निर्माण शीर्षक विपरीत झापाको निन्दाबाट सुरु गरिएको भन्दै कोशी प्रदेश सरकारलाई आज ज्ञापनपत्र बुझाइएको छ।
सूर्योदय नगरपालिकाको १७औँ नगरसभा बैठकबाट पारित निर्णयको आधारमा नगर उपप्रमुख दुर्गा बराल र वडा नं. ६ का अध्यक्ष शिवकुमार बस्नेतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो।
सडक निर्माण मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गत हर्कटेबाट सुरू भएर निन्दासम्म जाने गरी स्वीकृत भएको भए पनि उल्टो दिशाबाट काम थालिएको भन्दै स्थानीय तह, जनप्रतिनिधि र बासिन्दाहरूले आपत्ति जनाउँदै सडक निर्माण सुरुवात हर्कटेबाटै गर्नुपर्ने माग राखेका छन्।
ज्ञापनपत्र बुझ्दै भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सडक निर्माण शीर्षकअनुसार हर्कटेबाटै सुरू हुने स्पष्ट पार्नुभएको छ। साथै उहाँले अबदेखि इलामका सडकहरू इलाममै स्थापना गरिएको पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
प्रतिनिधिमण्डलले मुख्यमन्त्री हिक्मत कार्की र मन्त्रालयका सचिवसमक्ष पनि छुट्टाछुट्टै भेट गर्दै शीर्षकअनुसार निर्माणको माग दोहोर्याएका थिए। मुख्यमन्त्री कार्कीले मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यसअघि पनि स्थानीयवासी, जिल्ला समन्वय समिति तथा प्रदेशसभा सदस्यहरूले पटक–पटक ध्यानाकर्षण गराउँदै हर्कटेबाटै काम सुरु गर्न आग्रह गर्दै आएका थिए। उनीहरूले सुदूर स्थानबाट राजनीतिक या व्यक्तिगत प्रभावमा काम थाल्न खोजिए प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन्।
स्थानीयहरूका अनुसार यो सडक संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएको र विगतमा समेत हर्कटेबाटै निर्माण हुने गरिआएको थियो। तर हाल शीर्षक विपरीत निन्दाबाट काम सुरु गर्नु व्यक्तिगत स्वार्थ र शक्तिको प्रभाव भएको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिने चेतावनी दिइरहेका छन्।
यदि शीर्षक विपरीत काम अघि बढाइयो भने, स्थानीयहरूले अदालत, अख्तियार लगायत सम्बन्धित निकायमार्फत न्याय माग गर्ने र जिम्मेवार व्यक्तिहरूलाई उन्मुक्ति नदिने बताएका छन्।