बनियानी। १७ वर्षदेखि झापाका सडक, गल्ली र चोकहरूमा गीत गाएर आफ्नो जीवनयात्रा अघि बढाइरहेका दृष्टिबिहीन गायक जेठा मुर्मुलाई कचनकवल गाउँपालिकाले मंगलबार एक थान साउण्ड सिस्टम प्रदान गर्यो। आफ्नै गाउँपालिकाबाट यस्तो सहयोग पाउँदा मुर्मुको मुहारमा खुसीको झलक थियो, तर त्यो खुसी धेरैबेर टिक्न सकेन—उनी निराश मुद्रामा सामग्री छाडेरै फर्किए।
कार्यक्रमको दौरान उनले “रितुहरूमा तिमी…” र “आँखा छोपी नरोऊ…” जस्ता भावुक गीतहरू गए। तर कार्यक्रमपछि भने मुर्मु स्वयंको आँखा भिजेको थियो—न उत्साहका आँशु, न त गर्वका, ती थिए अपेक्षा भत्किएको पीडाका आँशु।
“सोचेको थिएँ अब राम्रो स्पीकरमा गीत गाउन पाउनेछु,” उनले दुखेसो पोख्दै भने, “तर न त हेवी स्पीकर रहेछ, न राम्रो माइक। रिमोट पनि चलेन, यस्तो त फेरि बिग्रिरहन्छ।”
करुणा फाउन्डेसन नेपाल, कचनकवल गाउँपालिका र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त सामग्री उनी सन्तुष्ट नभएसँगै करुणा फाउन्डेसनका प्रतिनिधि र दृष्टिविहीन अगुवा दिलकुमार राजवंशीलाई जानकारी गराई सामान त्यहीँ छोडेर फर्किए।
अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल तथा करुणा फाउन्डेसन पालिका संयोजक अञ्जना लामिछाने लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रम शासकीय औपचारिकतामा सकियो। तर मुर्मुको सपनाको धुन भने अधुरै रह्यो—माइकको तार जस्तै बिथोलिएको।
“गीत त अझै गाइरहनेछु,” भन्दै मुर्मु गुनगुनाउँदै भद्रपुरतिर लागे—तर मनभित्र कतै गहिरो आवाजमा बजिरहेको थियो, “नत जसरी खोजेको पाएँ, नत जति माया चाहिएको थियो।”